यामाहाले कारभन्दा महँगो मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याउने, कति पर्ला त मुल्य?

यामाहाको लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले कारभन्दा महँगो मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याउने भएको छ।

कम्पनीले योबारे आफ्ना डिलरहरूलाई अधिकतम खुद्रा मूल्य सहितको पत्रसमेत पठाइसकेको छ। एमएडब्लुले एउटा बिग स्कुटर र ३ ओटा बिग बाइक ल्याउन लागेको हो। जसअनुसार वाइजेडएफ आर ६ मोटरसाइकल, टि–म्याक्स स्कुटर, एमटी–०९ मोटरसाइकल, र बोल्ट मोटरसाइकल नेपाली बजारमा आउनेछ।

कम्पनीले ६०० सिसिको वाइजेडएफ आर ६ को मूल्य ३९ लाख ९९ हजार, ५६० सिसिको टि–म्याक्स स्कुटर, ८५० सिसिको एमटी–०९ मोटरसाइकल र ९५० सिसिको बोल्ट मोटरसाइकलको ३४ लाख ९९ हजार निर्धारण गरेको छ। एमएडब्लुले नेपालमा बिग बाइक सिरिज पहिलो पटक ल्याउन लागेको भए पनि विश्व बजारमा पहिल्यैदेखि नै उसको उपस्थिति छ।