गृहमन्त्री बादललाई हटाउने होइन, उपप्रधानमन्त्री बनाउनु पर्छ भनेको थिएँ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापालाई आफूले गृहमन्त्रीबाट हटाउन दवाव नदिएको दावी गरेका छन् । बरु उनलाई उपप्रधानमन्त्री बनाउन भनेको प्रचण्डको दावी छ ।

शुक्रवार अर्का अध्यक्ष एवं केपी शर्मा ओलीलाई लेखेको पत्रमा प्रचण्डले भनेका छन्, ‘म तपाईंलाई गम्भीरतापूर्वक चुनौती दिन चाहन्छु, मैले कहाँ र कहिले मन्त्रिमण्डलको पुनर्गठनको सन्दर्भमा कमरेड ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ?’

यसअघि प्रचण्डले थापालाई गृहमन्त्रीबाट हटाउन ओलीलाई दवाव दिएको बाहिर प्रचार भएको थियो । ‘अति गर्नु, अतिचार नगर्नु भन्छन्, यो देख्दा त मलाई पनि भन्न मन लागेको छ “इनफ इज इनफ” ।’ प्रचण्डले पत्रमा भनेका छन् ।