नागढुंगामा सुरुङमार्ग खन्ने काम मंगलबार विहानबाट सुरु

सिस्नेखोला (दहचोक-नागढुंगा) सुरुङमार्ग खन्ने काम मंगलबारबाट सुरु भएको छ । आयोजनाले मंगलबारदेखि काठमाडौंतर्फबाट सुरुङ खन्न सुरु गरेको आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो ।

आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यका अनुसार मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको हो । ‘१५-१६ मिटरसम्म माटो नै भेटिन्छ, त्यसपछि विष्फोटक पदार्थ प्रयोग गर्न सकिन्छ,’उनले भने ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ ।

सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जाको विवाद नसल्टिएको लगायतका कारण देखाउँदै काममा ढिलाइ भयो ।

यो आयोजना ४२ महिनामा सक्ने लक्ष्य राखिएको छ । सुरुङमार्ग बनेपछि काठमाडौं र नौबिसेको दूरी ८ किलोमिटर छोटिनेछ । सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।