प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रदेश सांसद राजेन्द्र राईले दिएको जानकारी अनुसार नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

उनीहरूले नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेका छन्। प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् ।

समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए । राईविरूद्ध झन्डै ४० जना प्रदेश सांसदले हस्ताक्षर गरेको प्रचण्ड-नेपाल पक्षीय एक नेताले जानकारी दिए। प्रदेश १ को प्रदेश सभामा ९३ सिट छन्। तीमध्ये नेकपाका ६७ सांसद थिए ।

पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन्। केही सदस्यहरु यता उता गरिरहेका छन्। यसअघि राईको मन्त्रीमण्डलमा रहेका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए। सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार राजीनामा दिएका हुन्।

यस्तै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएको प्रदेश नम्बर १ का नेकपा सचिव सुरेश राईले बताए।