कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट, ब्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प र अवसर रहेको औंल्याएका छन्।

आज पर्साको वीरगन्जमा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको बताए।

कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको उनको भनाइ छ। प्रचण्ड र ओलीको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको थापाले बताए। नेकपा भित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी छ।

व्यक्ति परिबर्तनले समस्या समाधान नहुने भन्दै उनले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए। थापाले आगामी चुनावका लागि भोट समेत मागे। उनले भने ‘हामी आफै देश बनाउन सक्छौँ, राप्रपालाई बिश्वास गर्नुस हिन्दुराष्ट्र दिन्छौँ, राजसंस्था दिन्छौँ, विकास र समृद्धि दिन्छौँ।’

थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखि विप्लव, काङ्ग्रेस, कम्युनिष्ट,मधेशवादी सबै अट्ने व्यवस्था नै राप्रपाको चाहना भएको बताए। कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजिब पराजुलीले मधेश र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आबश्यक भएको बताए।

केन्द्रीय सदस्य नगिना यादब र जिल्ला अध्यक्ष सोमेश्वर उपाध्याय लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए। कार्यक्रम पछि जिल्ला अध्यक्ष उपाध्यायको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।