गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन दाहाल–नेपाल पक्ष जुट्यो

गण्डकी प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने कसरतमा नेकपाको दाहाल–नेपाल समूह जुटेको छ । दाहाल–नेपाल समूहका सांसद दीपक कोइराला मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याई नयाँ सरकार गठन गर्न प्रतिपक्षी दलहरूसँगको छलफलमा छन् ।

उनी संसद्को अर्थ तथा विकास समिति सभापतिसमेत हुन् । ‘हाम्रो पक्षले मात्रै अविश्वासको प्रस्ताव ल्याउने सम्भावना रहेन, समर्थन फिर्ता गर्ने सम्भावनाचाहिँ छ,’ उनले भने, ‘कांग्रेससँग कुरा भइरहेको छ, ठोस निष्कर्ष आइसकेको छैन ।’

गण्डकीमा ओली समूहका २७, दाहाल–नेपालका १३, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ गरी ६० सांसद छन् । प्रतिपक्षी दलका २० सांसदसँग नयाँ सरकार गठन गर्ने विषयमा छलफललाई तीव्र बनाएको कोइरालाले बताए । उनका अनुसार दाहाल–नेपाल समूहका सांसदको भेला सोमबार डाकिएको छ ।

शनिबार भएको दाहाल–नेपाल समूहको प्रदेशस्तरीय बैठक भने यस विषयमा टुंगोमा पुग्न सकेन । नेकपाको प्रदेश अध्यक्ष रहेका हितराज पाण्डेले केन्द्रमा पार्टीबीच हुने सहकार्यले पनि प्रदेश समीकरणमा अर्थ राख्ने बताए । यसअघि शुक्रबार पोखरामै एक कार्यक्रममा ओलीनिकट मानिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघमा जेसुकै गरे पनि प्रदेशमा मिलेर जान प्रस्ताव गरेका थिए ।

कांग्रेस संसदीय दलले कोरोना नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै गत मंसिरमै संसद्को विशेष अधिवेशन माग गरेको थियो । प्रदेश प्रमुख अमिक शेरचनले पुस २१ गते १ बजे बस्ने गरी विशेष अधिवेशन डाकेका छन् ।

यसअघि पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाले वाग्मती र प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।