अदालतको निर्णय नै कांग्रेसलाई मान्य हुनेछ: देउवा

अदालतको निर्णय नै कांग्रेसले मान्य हुने बताएको छ। भक्तपुरमा सोमबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले गर्ने निर्णय नै आफूहरुलाई मान्य हुने बताएका हुन्।

संसद विघटविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आउने निर्णय नै कांग्रेसलाई मान्य हुने उनले बताए। ‘धम्क्याएर, तर्साएर निर्णय गर्न बाध्य पार्दैनौं, उनले भने, ‘हाम्रो पार्टीले अदालतलाई तर्साउने, धम्क्याउने गरेर यस्तै निर्णय गर भन्दैन। पञ्चायतमा पनि हामीले अदालतबाट न्याय पाएका थियौं। अदालत स्वतन्त्र छ,’ उनले भने।

उनले ओलीको पछिल्लो कदम असंवैधानिक, लोकतन्त्रविपरीत र संघीयताको विरुद्धमा रहेको बताए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद‍् विघटन गरेको विरोधमा कांग्रेसले सोमबार एकैदिन देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको हो।

प्रधानमन्त्रीको यो कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्ने जनाएको छ।