जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु , मोटरसाइकलमा आगलागी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर चालक लिम्बूको घटनास्थलमै ज्यान गएको हो । गम्भीर घाइते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको एसपी शर्माले बताए । दुर्घटनामा परेर मोटरसाइकलमा आगलागी भएको छ । दुर्घटना लगत्तै सडकमा बजारिएको मोटरसाइकलको ट्यांकी लिक गएर पेट्रोल बाहिर निस्किएपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

तत्काल निभाउन नसक्दा आगोले जलेर मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको एसपी शर्माले बताए । दुर्घटनापछि स्कारपियो र चालक झापा दमक–२ का ३७ वर्षीय लक्ष्मीकुमार धिमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।