प्रधानमन्त्री तानाशाही बनेको कारण देश दुर्घटनामा परेको रामकुमारी झाँक्रीको आरोप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शार्मा ओली तानाशाही बनेको आरोप लगाएकी छन् ।

वीरेन्द्रनगरमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले तानाशाही बनेर विधिको शासनभन्दा पनि व्यक्तिको शासन लाद्न खोज्दा देश दुर्घटनामा परेको टिप्पणी गरिन् ।‘कमरेड ओलीलाई हेक्का रहोस् हामीले व्यक्तिले शासन गर्ने व्यवस्था अन्त्य गरिसकेका छौं,’ उनले भनिन्, ‘हिजो जनआदेशका अगाडि ज्ञानेन्द्रले घुँडा टेकेका थिए । चिन्ता नगर्नुस् कमरेड तपाईंलाई पनि हामी घुँडा टेकायरै छोड्छौं ।’

ओलीको तानाशाही प्रवृत्ति उनकै लागि घातक भएको झाँक्रीले बताइन् । ओलीले असंवैधानिक रूपमा विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नभए नेपालको संविधान, प्रणाली र सार्वभौमिकता नै नरहने उनको भनाइ छ ।

‘प्रधानमन्त्री र प्रधानन्यायाधीश बीच केही सेटिङ भएको हल्ला सुन्छु । म चाहान्छु त्यो झुटो होस्,’ उनले भनिन्, ‘संसद पुनर्स्थापना नभए मुलुकको सार्वभौमता नै रहँदैन, संविधान नै रहँदैन र त्यो हाम्रा लागी मान्य पनि हुनेछैन् ।’

उनले हतारमा घोषणा गरिएको पार्टी एकता त्रुटिपूर्ण भएकाले अहिले नेकपा विभाजनको बाटोमा गएको बताइन् । प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएको र पार्टी विभाजन हुँदा पनि ६० प्रतिशत दाबी गर्नु ओलीको मूर्खता भएको उनको भनाइ थियो ।