प्रचण्ड–माधवसँग बहुमत भएको ओलीले स्वीकारे

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहसँग पार्टीको बहुमत रहेको स्वीकार गरेका छन् ।

प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । ‘पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन र ? माधव गुट छ । फेरि प्रचण्ड गुट । उसलाई उत्तिकै सिट दिँदाखेरि, दुईवटा मिल्दाखेरि बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएन र ?’, ओलीले भने । ‘उहाँहरुलाई त्यो संख्या दिइएको हो । त्यो एकताका लागि दिएको हो स्थिरताका लागि दिएको हो । दुरुपयोगका लागि होइन ।’

प्रधानमन्त्री ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि आफूले बहुमत संख्या दिएको बताए । ‘उहाँहरुलाई मैले दिएको त्यो संख्या, एकताका लागि दिइएको थियो । एकीकरणका लागि दिइएको थियो । यो देश बनाउनका लागि दिइएको थियो । संविधान कार्यान्वयन गर्नका लागि दिइएको थियो । स्थायित्वका लागि दिइएको थियो । देश अगाडि बढाउनका लागि दिइएको थियो । तर, उहाँहरुले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभयो’, ओलीको निष्कर्ष छ । अर्थात्, उनले प्रचण्ड र माधव माथि आरोप लगाउने क्रममा आफ्नो अल्पमत पनि स्वीकारे ।