पुल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा ५ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको टेकुस्थित पुल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाएको छ ।

काठमाडौं दिगो सहरी यातायात आयोजना अन्तर्गन पुल निर्माणका क्रममा ठेकेदार कम्पनी पप्पुले गुणस्तरहीन काम गरेको आरोप यसअघिदेखि नै लाग्दै आएको थियो । अख्तियारले बिहीबार ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । हरेकमाथि एक करोड १४ लाख बिगो र जरिवाना माग दाबी छ ।

अख्तियारले आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख बेलबहादुर नेपालीमाथि कार्यसम्पादन जमानत नविकरण नगरी तेस्रो पटक ठेक्काका लागि म्याद थप गरेको आरोप लगाएको छ । उनीमाथि त्यही सिफारिसका आधारमा कार्यसम्पादन जमानत फुकुवा भई सरकारलाई नोक्सान पुर्‍याएको आरोप छ ।

लेखा अधिकृत नारायणबहादुर थापामाथि ठेक्काको म्याद थपको सिलसिलामा गलत टिप्पणी उठाइ सिफारिस गरेको आरोप छ । लेखापाल गिरीप्रसाद श्रेष्ठमाथि ठेक्का तोड्ने र कालोसूचीमा राख्ने जस्तो कारबाहीमा कार्यसम्पादन जफत हुनुपर्नेमा नगरेको आरोप छ । लेखा अधिकृत श्यामबहादुर खत्रीमाथि पनि त्यही आरोप छ । निर्माणमा संलग्न झोङदिन इन्टरनेशनल इञ्जिनियरिङ लिमिटेडका प्रतिनिधि जेङ जुयाङ र ठेक्काको अख्तियारनामा पाएका सुमित रौनियारमाथि एक करोड १४ लाख कार्यसम्पादक जमानतको रकम फुकुवा गरी राज्यकोषमा हानीनोक्सानी पुर्‍याएको आरोप छ ।

टेकुदेखि कालिमाटी जोड्ने विष्णुमती खोलाको पुल बनिसके पनि डिभिजन सडक कार्यालयले नै पुलमा हिँड्नसमेत नमिल्ने गरी पर्खाल लगाएको छ । प्राविधिक परीक्षण प्रतिवेदनमा डिजाइन विपरीत बिम ढलान गरेको, लठ्ठामा पनि समस्या देखिएको, काम रोक्न निर्देशन दिँदा समेत ठेकेदारले वास्ता गरेका थिएनन् । परामर्शदाताले नै निर्माणमा त्रुटी रहेको बताएपछि सडक कार्यालयले पुलमा पर्खाल उठाएको हो । यसमा पप्पुले भने निर्माण सम्पन्न भएको भन्दै भुक्तानीको दाबी गरिरहेको थियो । पुल निर्माणका लागि २२ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ६२ मिटर लामो पुल निर्माणका लागि २०७४ सालको पुसमा तेस्रोपटक म्याद थप गरिएको थियो ।

भौतिक पूर्वाधार मन्त्रालय मातहतको दिगो सहरी यातायात आयोजनाबाट निर्माण सुरु भएको पुलपछि डिभिजन सडक कार्यालय काठमाडौंमा क्षेत्राधिकारमा आइपुगेको छ । त्यो आयोजना भने पुल नबन्दै भंग भयो । उक्त सडकको फाइल समेत नभेटिएको डिभिजन सडक कार्यालयले त्यतिबेला सडकको फाइल समेत हराएको जनाएको थियो । पुल नबन्दा सडक विस्तार भएपछि टेकु र कालीमाटी क्षेत्रमा जामको समस्या घटेको छैन ।