ओलीले राजा महेन्द्रको पालामा भन्दा चार गुणा बढी विकास गरेका छन् : मुख्यमन्त्री पोखरेल

राजा महेन्द्रले भन्दा प्रधानमन्त्री ओलीले चार गुणा बढी विकास गरेको मुख्यमन्त्री पोखरेलले दाबी गरे।

नेपालको इतिहासमा अहिले पनि राजा महेन्द्रले गरेको विकासको चर्चा हुने गरेको भन्दै उनले पूर्वपश्चिम राजमार्ग र काठमाडौं-कोदारी राजमार्गबाहेक महेन्द्रले अरू विकास नगरेको दाबी गरे।

‘त्यतिबेलाको समयमा त्यो धेरै ठूलो काम भएको थियो,’ पोखरेलले भने, ‘आज त्यस्ता पूर्वपश्चिम राजमार्ग मात्रै चार वटा बन्दैछन्। उत्तर-दक्षिण करिडोर सात वटा निर्माण हुन थालेको र तीन वटामा अहिले नै यातायात सञ्चालन हुने स्थितिमा छन्,’ उनले भने।

काठमाडौंदेखि निजगढसम्मको फाष्टट्रयाक निर्माण सुरू भइसकेको भन्दै उनले अब सुरूङ खन्न र पुल बनाउन मात्रै बाँकी रहेको बताए। त्यस्तै उनले अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्रै भएको मुलुकमा अबको ६ महिनामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाँज अवतरण गर्ने स्थिति बनेको बताए।

उनले पहाडका दर्जनौं कच्ची धावनमार्ग भएका विमानस्थल अहिले धमाधम कालोपत्रे भएको बताए। पहिले काठमाडौंको एउटा विमानस्थलमा मात्रै रात्रिकालिन उडान गर्न सक्ने अवस्था रहेकोमा अहिले नेपालका आठ वटा विमानस्थलबाट रात्रिकालिन उडान गर्न सकिने उनले बताए।

तराईका प्रायः सबै विमानस्थलमा रात्रिकालिन उडान हुने गरेको पोखरेलले जिकिर गरे। ‘अझै पनि केही भएको छैन भन्ने?,’ उनले प्रश्न गरे।

त्यस्तै उनले सिँचाईतर्फ भेरी–बबई डाइभर्सन नेपालको विकासको नयाँ युगको सुरुवात भएको दाबी गरे। जहाँ तोकिएको समयभन्दा छिटो सुरूङ निर्माणको काम भएको उनले बताए। अब केही समय पछाडि भेरीको पानी बबईमा खसालेर बर्दियामा सिँचाई गरेर बाह्रै महिना खेती हुने उनले विश्वास व्यक्त गरे।

त्यस्तै उनले अर्कौ एउटा ठूलो परियोजनाका रूपमा सुनकोसी डाइभर्सनको माध्यमबाट नेपालको सबैभन्दा ठूलो अन्न भण्डार २ नम्बर प्रदेशमा सिँचाई क्रान्ति हुने बताए । यी सबै काम केपी शर्मा ओलीको पालामा भएको भन्दै विकासमा मुलुकले छलाङ मारेको उनले जिकिर गरे।