मेरो कित्ता क्लियर छ, विवाद मिलाउने कोशिशमा लागिरहेको छु : वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित बनेको अवस्थामा आफ्नो कित्ता स्पष्ट रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘कित्ता क्लियर छ, हाम्रो पार्टीभित्र तीन नम्बर कित्ता । एक नम्बर, दुई नम्बर विभाजनतिर, तीन नम्बर कित्ता मिलाउने तिर ।’ उनले आफूले नेकपा एकता अभियान संगठित रुपमा अघि बढाउने पनि प्रतिक्रिया दिए ।

उनले शुक्रबार मात्रै आफ्नो प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको उल्लेख गर्दै सो भेटमा प्रचण्डले आफूसँग आउन आग्रह गरेपनि अस्वीकार गरेको जानकारी दिए । उनले भने, ‘उहाँले आउनुपर्यो भनेर भन्नु भयो मैले आउन सक्दैन भनेँ । त्यसो भए मिलाउने कोशिश गर्नुस् न भनेर भन्नुभयो मैले निरन्तर लागिरहेको छु भनेँ ।’

यस्तै प्रधानमन्त्री केपी ओलीले पनि आफूलाई दिनदिनै आफूकहाँ आउन भन्ने गरेको खुलासा समेत गरे । तर केही काम नभएकाले आफू जान इच्छुक नभएको बताए । अन्य प्रतिनिधिसभा सदस्य जस्तै आफूपनि प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको भन्दै प्रधानमन्त्रीकै मान्छेहरु पनि यो निर्णयबाट चिढिएको उनको दावी छ ।