म आफ्नो समय खेर फाल्दीन, दुई वर्षमा गर्ने काम पाँच महिनामै गर्छु : वनमन्त्री आले

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले पाँच महिने कार्यकालमा दुई वर्ष बराबरको काम गर्ने बताएका छन्।

शनिबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री आलेले आफ्नो कार्यकाल छोटो भएको र चार–पाँच महिनाको अवधिमा बढीभन्दा बढी काम गरेर देखाउने बताएका हुन्।

‘म आफ्नो समय खेर फाल्न चाहँदैन। मसँग चार–पाँच महिना बाँकी छ।’ उनले भने, ‘यो पाँच महिनामा करिब दुई वर्ष बराबरको काम गर्न म चाहन्छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। कुनै पनि लोभप्रलोवन नपरेर छोटो समयमा देखिने गरी काम अगाडि बढाउने उनको भनाइ थियो।

वन तथा वातावरण मन्त्रालयमा जिम्मेवारी पाएका पूर्व मन्त्रीहरुले गरेका कामहरुमध्ये छोटो कार्यकालमा पनि आफूले उत्कृष्ट काम गरेर मात्रै निस्कने उनले बताए। मन्त्रालयले ठूला ठूला पोखरी बनाउने, पहिरो आउने ठाउँमा वृक्षारोपण गर्ने, जडिबुटी उत्पादन र प्रशोधन गर्ने उद्योग सञ्चालन गर्ने, चिडियाखाना बनाउने र रोजगारी दिलाउने काम गर्ने बताए। उनले मन्त्रलायमा कार्यरत सचिव तथा अन्य कर्मचारीहरुलाई काम छिटोछरितो गर्न कडा निर्देशन समेत दिएको जानकारी दिए।