अत्यधिक भीडभाँड बढेपछि न्युरोड-संकटा क्षेत्रबाट रंगीचंगी हटाइयो

छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडक माथि राखिएको छाता हटाउन सुरू गरिएको छ।

कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय ब्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो।

‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं,’ संकटा क्लवका सचिव आशिषमा सिंहले भने, ‘भीड ब्यवस्थापन गर्न सकेनौं र हटाउने निर्णयमा पुग्यौं।’ समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।

मुख्य ब्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक ब्यवस्थापन, सवारी आवागमनमासमेत समस्या परेको सचिव सिंहले बताए। ‘ब्यापार बढाउनुभन्दा समस्या थपिएपछि सबै जना मिलेर बन्द गर्ने निष्कर्षमा पुग्यौं,’ उनले भने, ‘अलिअली ब्यापार भइरहेको पसलमा पनि छाताकै भीडले ग्राहक आउन नसकेको हामीले बुझ्यौं।’

पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरु गरिएको थियो। चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना नबाउने सिंहले बताए। ‘अहिलेलाई हटायौं। फेरि राख्नेबारे सोचेका छैनौं,’ उनले भने।

शनिबार बेलुकादेखि छाता हटाउन सुरु गरिएको र आइतबारसम्म सबै हटाईने सिंहले जानकारी दिए।