प्रचण्डलाई सुझाव : ‘टिको लगाएर प्रधानमन्त्री र अध्यक्ष हुने भ्रमबाट निस्किनुस्’

नेकपाका लुम्बिनी प्रदेश ईन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले प्रधानमन्त्री र अध्यक्ष बन्ने चाहना भए पार्टीको महाधिवेशन र निर्वाचन जितेर आउन प्रचण्डलाई चुनौती दिएका छन्।

ओली समूहको नेकपा रूपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘निर्वाचनबाट हारे पनि अध्यक्ष र प्रधानमन्त्री बन्ने रहर छ भने निर्वाचनमा सहभागि हुनोस्, टिको लगाएर प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुने भ्रमबाट बाहिर निस्किनुस्।’

मुख्यमन्त्री पोखरेलले पार्टी संकटमा पर्नुको मुख्य कारण कार्यकारी अध्यक्ष प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा माथि लगाईएको झुठो र संगीन अभियोगपत्र नै भएको र त्यसको जिम्मेवारी प्रचण्डले नै लिनुपर्ने बताए।

‘प्रधानमन्त्री तथा पार्टीका अध्यक्षमाथि संगीन आरोप लगाउनुको उद्देश्य पार्टी कब्जा गर्ने, प्रथम अध्यक्षलाई कारवाही गर्ने र पार्टीलाई संकटमा पुर्‍याउनुनै थियो, त्यो आरोप निषेधको उद्देश्यले लगाईएको आरोप थियो, त्यसैबाट पार्टीलाई विग्रहको अवस्थामा पुर्‍याउन खोजियो,’ पोखरेलले भने।

पोखरेलले प्रधानमन्त्रीमाथि प्रचण्डले लगाएको आरोपपत्र फिर्ता लिएको भए पार्टी अहिलेको अवस्थामा नआउने र फुटको अवस्थामा जानबाट जोगिने बताए। ‘केपी ओलीले पार्टी एकताको लागि गरेको योगदान र भूमिकालाई प्रचण्डले पार्टी कब्जा गर्ने दुष्प्रयासको रूपमा प्रयोग गर्नुभयो,’ उनले भने। पूर्वएमाले भित्रको अन्तरविरोधमा खेलेर प्रचण्डले षडयन्त्र नगरेको भए पार्टी अहिलेको अवस्थामा नआउने उनको दाबी छ।

नवौं महाधिवेशनमा ओलीसँग हारेका माधव नेपाललाई अध्यक्ष बनाएको र ईश्वर पोखरेलसँग चुनाव हारेका सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारीमा रहेको भन्दै प्रचण्ड जतिजति माथि चढेको भ्रममा हुनुहुन्छ त्यतिनै खाडलमा झर्दै जाने बताए।

मुख्यमन्त्री पोखरेलले जनता र कार्यकर्ता साथमा नभएका कारण केही नेताको समूह सडकमा पुगेको उल्लेख गर्दै उनले आँट र हिम्मत भए जनताका बिचमा जान आग्रह गरे। ‘तपाईँहरू छातिमा हामी यहाँ छौं भन्दै टाँसेर सडकमा हिड्नुभएको छ, कार्यकर्ताको समूह यहाँ छ तपाईँहरू कहाँ हुनुहुन्छ, तपाईँहरू दुई-चार जना नेताको समूहमा हुनुहुन्छ, हामी जनता र कार्यकर्ताको बिचमा छौं,’ उनले भने।

पोखरेलले नेताको समूहले मात्र पार्टी निर्माण नहुने भन्दै पार्टी निर्माणको लागि कार्यकर्ता चाहिने र कार्यकर्ता आफूहरू तीर रहेको दाबी गरे। उनले अध्यक्ष ओलीकै कारण गत निर्वाचनमा पार्टीले झण्डै २ तिहाई ल्याएको दावी गरे।

‘निर्वाचन जिताउन प्रचण्ड र माधव नेपालका निर्वाचन क्षेत्रमा जिताउन पनि ओली नै जानुपर्ने, माधव नेपाललाई जिताउन पनि ओली नै जानुपर्ने, अनि चुनाव सकिए लगत्तै प्रधानमन्त्री उनीहरुलाई चाहिने?,’ पोखरेलले प्रश्न गरे।

पोखरेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा २ तिहाई भएकै बेला विघटनको सिफारिस गरेकाले सिफारिस वैधानिक रहेको दाबी गरे। उनले प्रथम अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको दावी गरे।