विवाद जटिल मोडमा पुगेका बेला नेकपा सचिवालयको बैठक शुरू

पार्टीभित्रको विवाद जटिल मोडमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सचिवालयका सबै सदस्य उपस्थित छन् ।

बैठकका लागि प्रचण्ड पौने १ बजे नै बालुवाटार पुगेका थिए । लामो समयको कसरतपछि कात्तिक २८ गते शुक्रवार केही समयका लागि नेकपा सचिवालय बैठक बसेको थियो ।

शुक्रवारको बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई ७ पेज लामो पत्र र राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री एवं अध्यक्ष ओली आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्नेछन् ।

आजको बैठक औपचारिक रूपमा शुरू गरेर कुनै निर्णय नगरी स्थगित गर्ने सम्भावना छ । नेकपा बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलवार भेटेर दुई अध्यक्ष मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् । राजदूत सिफारिश र मन्त्रिपरिषद् विस्तारलाई लिएर नेकपामा चुलिएका विवाद प्रचण्डको प्रस्तावसँगै नयाँ चरणमा प्रवेश गरेको छ ।