सिमानामा भारतीय दादागिरी, नरेश सुनारमाथि गोलि प्रहार

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का १७ वर्षीय नरेश सुनार सोमबार साँझ सीमावर्ती गढीगोठमा भारतीय सशस्त्र वन रक्षकको गोली प्रहारबाट घाइते भए । उनको दुवै खुट्टामा चोट लागेको छ । गोली प्रहारअघि सुनारलाई कुटपिट पनि गरिएको थियो ।

२०७७ साउन १० गते रौतहटको सीमावर्ती परोहा नगरपालिका–८ नरकटियामा सीमानाका बन्द रहेको अवस्थामा नेपाल प्रवेश नपाएपछि एक भारतीय नागरिकको खुर्पा प्रहारबाट सीमा सुरक्षार्थ सशस्त्र प्रहरीका जवान नै घाइते भए । गएको भदौ ३ गते कुसे औंसीका दिन कुस काट्ने क्रममा महोत्तरीको मनरा सिसवाका बलिन्दर सदाले बारीमा अष्टधातुको मूर्ति फेला पारे । त्यसको सुँइको पाएपछि हतियारसहित भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवान नेपाल प्रवेश गरी सदालाई मूर्तिसहित नियन्त्रणमा लिएर भारततर्फ लगे । स्थानीयको विरोधपछि करिब १२ घण्टा नियन्त्रणमा राखेर एसएसबीले सदालाई रिहा गरेको थियो ।

२०७३ फागुन २६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–४ आनन्दबजार नजिकै कल्भर्ट निर्माणका क्रममा विवाद हुँदा एसएसबीले गोली हानी गोविन्द गौतमको हत्या गरेको थियो । त्यसअघि २०७२ मंसिर ९ गते सुनसरीको हरिपुरमा हतियारसहित नेपाल प्रवेश गरी एसएसबीले चार नेपाली नरेश यादव, सरोज यादव, अशोक यादव र मनोज यादवमाथि गोली प्रहार गरेको थियो ।

सीमा क्षेत्रका नेपालीमाथि भारतीयबाट भएका ज्यादती र अपराधका यी केही प्रतिनिधिमूलक घटनामात्रै हुन् । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट कतै हत्या, कतै घाइते अनि कतै दुर्व्यवहारका घटना बर्सेनि दोहोरिरहन्छन् । त्यतिमात्र होइन, सीमा अतिक्रमणदेखि नेपाली भूमि प्रवेश गरी दशगजावारि अनधिकृत रूपमा भौतिक संरचना निर्माणमा पनि भारतीय नागरिक र एसएसबीको ज्यादती रोकिएको छैन । पछिल्लो पटक सोमबार इलामको पशुपतिनगरस्थित हिले क्षेत्रमा नेपाली भूमि प्रवेश गरी बार लगाएको एसएसबी स्थानीय विरोधमा उत्रिएपछि पछि हटेको थियो ।

सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) खटिएका स्थानमा भारतीयबाट हुने ज्यादतीमा कमी आए पनि खुला सिमाना र सबै ठाउँमा एपीएफको उपस्थिति नहुँदा स्थानीयले सधैं सास्ती बेहोर्नुपरेको छ । जसका कारण भारतीयले खुला सिमानाको नाजायज फाइदा उठाउने मात्र होइन, अपराधमा पनि उनीहरूको संलग्नता बढ्दै गएको छ ।

भारतीयको ज्यादती भएपछिका केही दिन सरकारले प्राथमिकताका साथ विषयको सम्बोधन गर्न खोजे पनि दीर्घकालीन समाधान नहुँदा घटना दोहोरिने गरेका हुन् । गृह मन्त्रालयकै अभिलेखअनुसार पछिल्लो एक वर्षमा एसएसबी र स्थानीयले सीमावर्ती नेपाली भूमि प्रवेश गरी २१ स्थानमा आक्रमण र हूलहुज्जत गरेका छन् । भारततर्फ नेपालका प्रदेश १, २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी ६ प्रदेशका दक्षिणतर्फका जिल्लाले सीमा छुन्छ । सीमा सुरक्षार्थ सशस्त्रका १ सय ९० बीओपीलाई तैनाथ गरिएको छ । तर नेपालसँग सीमा जोडिएका क्षेत्रमा भारतले एसएसबीका करिब ५ सय ३० बीओपी तैनाथ गराएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने ज्यादती रोकथाम तथा नियन्त्रण गर्न कूटनीतिक पहल भएको तथा स्थानीय प्रशासन र सशस्त्र प्रहरी पनि सक्रिय रूपमा लागिपरेको बताए । भारतीय सुरक्षाकर्मीले पनि सशस्त्रको उपस्थिति नभएका स्थानमा मौका छोपेर ज्यादती गर्ने गरेको उनको भनाइ छ । ‘नेपालीमाथि भारतीय पक्षबाट हुने ज्यादती र सीमा अतिक्रमण रोकथाम तथा नियन्त्रणमा गृहबाट कुनै कसरत बाँकी राखेका छैनौं, गम्भीर खालका विषयमा कूटनीतिक माध्यमबाट पत्र पठाई ध्यानाकर्षण गराइरहेका छौं,’ प्रवक्ता बुढाले भने, ‘सशस्त्र प्रहरीको उपस्थिति नभएका क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि दुर्व्यवहार, गोली प्रहारबाट भएका मृत्यु र घाइते हुने घटना भइरहेका छन् ।’ उनले बीओपी संख्यालाई आवश्यक भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर बढाउन लागिपरेको बताए ।