१६ महिनाअघि नेम्वाङले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् भनेका थिए

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गराएपछि सो कदम संवैधानिक कि असंवैधानिक हो भन्नेबारेमा यतिबेला अदालतमा बहस भइरहेको छ । प्रधानमन्त्री ओली पक्षले सो कदमलाई संवैधानिक र प्रधानमन्त्रीको विशेषाधिकारका रुपमा ब्याख्या गरिरहेको छ भने बहुसंख्यक संविधान तथा कानूनका ज्ञाताहरुले भने असंवैधानिक कदमको रुपमा टिप्पणी गरिरहेका छन् ।

यो बेला कानूनका ज्ञाता समेत रहेका र संविधान निर्माण तथा जारी गर्ने बेला संविधानसभाका अध्यक्ष रहेका सुवासचन्द्र नेम्वाङतिर धेरैको ध्यान खिचिएको छ । तर प्रधानमन्त्रीको सो कदमपछि उनले राखेको अझै तोडिएको छैन ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको निर्णय लिए पनि नेम्वाङले ‘त्यो गलत भएको’ सार्वजनिक टिप्पणी गरेका छैनन्। नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषय गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदासमेत उल्लेख गरेका थिए। उनले प्रधानमन्त्रीले ‘संसद विघटन गर्न सक्तैन’ भनेका थिए।

काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादमा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने बताएका थिए। तर, अहिले सामाजिक सञ्जालमा उनै संविधानसभा अध्यक्ष नेम्वाङको १ मिनेट १३ सेकेन्डको भिडियो भाइरल भइरहेको छ, जसले अहिलेको समयमा उनले बोल्नुपर्ने कुरालाई सहयोग पु-याएको छ ।