ओली जस्ता निरंकुश र अहंकारी व्यक्ति कोही छैन : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल पक्ष) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कमजोर पारेको आरोप लगाउनुभएको छ ।

संसद बिघटनबिरुद्ध नेकपाले बुधबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले संविधानमा नै नभएको व्यवस्थाको हवाला दिंदै प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो निरंकुश र अहकारी व्यक्ति कोही नभएको आरोप समेत लगाउनुभयो । संकटकाल लगाउने सम्मको तानाबाना बुनिरिहेको हल्ला आएको भन्दै उहाले त्यसलाई सफल हुन नदिने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको बताउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले दुईतिहाइ बहुमतको सरकार चलाउन नसक्नेले चुनाव गराउँने भ्रममा नपर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एउटा पांग्रो भत्काएको तर्क गर्नुभयो । बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको भन्दै उहाले असंवैधानिक कदमको विरुद्धमा आन्दोलन जारी रहेको बताउनुभयो ।

बैठकमा अन्य नेताहरुले संसद बिघटन गर्ने असंवैधानिक कदमबिरुद्ध सवैले आवाज उठाउनुपर्ने धारणा राखेका थिए ।