ह्वाइट हाउसमा अड्डा जमाएर बसे ट्रम्प, निस्कने छाँटकाँट छैन

अमेरिकाको राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएदेखि डोनल्ड ट्रम्प ह्वाइट हाउसमा अड्डा जमाएर बसेका छन् ।

सीएनएनले दिएको खबरअनुसार, नोभेम्बर ३ पछि अहिलेसम्म ट्रम्पले कुनै सार्वजनिक समारोह आयोजन गरेका छैनन् । उनी बिहान गल्फ खेल्नका लागि मात्र ह्वाइट हाउसबाट निस्कन्छन् । अरू समय उनी ह्वाइट हाउसमै बसिरहन्छन् ।

ट्रम्प राष्ट्रपति कार्यालय ओभल अफिसमा पनि दिउँसो मात्र पुग्छन् र रातिसम्म बस्छन् । थ्यांक्सगिभिङमा पनि उनले छुट्टी नलिने योजना बनाएका छन् । ट्रम्पले जो बाइडनको जीतलाई स्वीकार गरेका छैनन् र कानूनी लडाइँ लडेर भए पनि दोस्रो कार्यकाल चलाउने सोच बनाइरहेका छन् ।

विगत एक हप्तादेखि ट्रम्पले महत्त्वपूर्ण विषयमा कुनै टिप्पणी नगरेको एक अधिकारीले बताए । इजिप्टमा शान्तिप्रक्रियामा खटिएका अमेरिकीहरूको मृत्यु, अफगानिस्तान र इराकबाट सुरक्षाबल फिर्ता बोलाउने विषय वा अन्य जल्दाबल्दा इस्युमा उनी स्वयंले केही पनि बोलेका छैनन् ।

सीएनएनको रिपोर्टअनुसार, ट्रम्प अधिकांश समय वकिलहरूसँग कुराकानी गरिरहेका छन् र पुनः मतगणना गराउनका लागि कानूनी उपायहरू अपनाइरहेका छन् । जो बाइडनलाई विश्वका धेरै मुलुकका नेताहरूले बधाई दिइसकेका छन् । चुनावपछि ट्रम्पले विदेशी राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग कुराकानी गरेका छैनन् ।