आफ्नो कार्यकाल अमेरिकी इतिहासकै सर्वोकृष्ट भएको ट्रम्पको दाबी

अमेरिकाको दुवै सदनको संयुक्त बैठकले जो वाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले शक्ति हस्तान्तरण गर्न सहमत भएका छन्।

राष्ट्रपति निर्वाचनको परिमाण अस्वीकार गर्दै आएका ट्रम्पले जनवरी २० मा वाइडेनले राष्ट्रपतिका रुपमा सपथ लिने बताएका हुन्। ‘चुनावको परिणामसँग मेरो पूर्ण रूपमा असहमति रहेको छ। यद्यपि, जनवरी २० मा व्यवस्थित तरिकाले शक्ति हस्तान्तरण हुनेछ,’ ट्रम्पले एक विज्ञप्तिमा भनेका छन्।

कानुनी रुपमा सहि मतहरुलाई मात्र मान्यता दिन आफूले प्रयास गरेको ट्रम्पले बताएका छन्। ट्रम्पले आफ्नो कार्यकाललाई अमेरिकी राष्ट्रपति इतिहासकै सबैभन्दा सर्वोकृष्ट कार्यकाल भएको समेत दाबी गरेका छन्। ‘अमेरिकालाई फेरि महान् बनाउने हाम्रो प्रक्रियाको यो सुरुवातमात्रै हो,’ उनले भनेका छन्।