मालपोत कार्यालयका नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ

सर्लाही मालपोत कार्यालय हरिवनका नायब सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नायब सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो ११ हजार घुससहित पक्राउ गरेको हो। उनीहरूले जग्गाधनी दर्ता प्रमाण पत्रमा नाम संशोधन गरेबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी अख्तियारले पाएको थियो।

सोही उजुरीको आधारमा बर्दिवासस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले लेखापढी महतोलाई ११ हजार घुससहित पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले बताए। यस कार्यमा संलग्नता देखिएपछि नायब सुब्बा बराललाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।