प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक : शुशीला कार्की

पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

एक टेलिभिजन कार्यक्रममा कुराकानी गर्दै पूर्वप्रधानन्याधीश कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संविधानका धारा ७६ नै काफी भएको बताउनुभयो । प्रधानन्यायाधीशले चाहेको खण्डमा १५ दिनभित्र फैसला सम्भव हुने उहाँको भनाइ छ । ‘तन्काउन जति पनि सकिन्छ तर प्रधानन्यायाधीशले चाहेमा १५ दिनभित्र फैसला हुन्छ’, उहाँले भन्नुभयो ।

मुलुक बचाउने वा डुबाउने तथा अदालतको गरिमा बचाउने वा नबचाउने जिम्मेवारी यतिबेला अदालतको काँधमा भएको उहाँको भनाइ छ । नागरिकले विश्वास गरेको थलोले नागरिकको विश्वास कायम राख्न सक्नुपर्ने उहाँको टिप्पणी छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासबाट मुद्दाको टुङ्गो लगाउन चुनौतिपूर्ण भए वृहत इजलासमा लगेर पनि फैसला गर्न सकिने बताउनुभयो । कार्कीसँगको विस्तृत कुराकानी बिहीबार बेलुकी ८ बजे र शुक्रबार बिहान ८ बजे ईमेज टेलिभिजनमा प्रसारण हुनेछ ।