सर्वोच्चले संशोधन गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ : नारायणकाजी श्रेष्ठ

प्रचण्ड-नेपाल पक्षका नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको प्रावधानअनुसार प्रतिनिधि सभा विघटन गरेको बताएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको श्रेष्ठको भनाइ छ।यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सर्वोच्चलाई संविधान संशोधनको अधिकार संविधानले नदिएको उनले बताए। सर्वोच्चले संविधानअनुसार नै फैसला गर्ने विश्वास श्रेष्ठको छ।

‘सर्वोच्च अदालतले पनि संविधानकै आधारमा टेकेर फैसला गर्ने हो, संविधान बाहिर गएर होइन,’ शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘सर्वोच्चलाई हाम्रो संविधानले संविधान संशोधन गर्ने अधिकार दिएको छैन। संविधान अन्तर्गत फैसला गर्ने मात्रै अधिकार दिएको छ।’ संविधान बाहिर गएर संविधानकै प्रावधान संशोधन भयो भने संविधान कागजको खोस्टोमा परिणत हुने श्रेष्ठले बताए।

‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधन गर्ने फैसला सर्वोच्चले गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ,’ उनले भने, ‘संविधान च्यातिएको अवस्था हुन्छ। समग्र अवस्था उल्टिने खतरा हुन्छ। संविधान सम्मत ढंगले फैसला गर्छ भन्ने विश्वास छ।’

प्रधानमन्त्री ओलीले पदीय स्वार्थका लागि पार्टी एकता गरेको उनको संकेत थियो। ‘संविधान र पार्टी विधान मान्दिनँ भन्न पाइँदैन,’ उनले भने। प्रधानमन्त्री ओली प्रतिनिधि सभा सुचारू गर्न चाहने हो भने पार्टी एकता सम्भावना पैदा हुने उनले बताए।

ncell in
प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्रीलाई के राजनीतिक वाधा पर्‍यो भन्ने उनको प्रश्न थियो।