आफू कमाउन होइन, देश विकास गर्न आएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कोही पनि आफन्तलाई लाभको पद नदिएको दाबी गरेका छन्।

शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले आफू कमाउन होइन, देश विकासमा आएको दाबी गर्दै आफूले अहिलेसम्म कोही पनि आफन्तलाई टपक्क टिपेर टुप्पामा नराखेको बताएका छन्।

‘मेरो कोही आफन्त कहीँ मैले टपक्प टिप्दै राख्दै गरेको कसैले देखाइदिओस्। कसैले एक जना मात्र यसरी राखेको देखाइदिओस्,’ उनले भने, ‘म नेताहरूलाई भन्न चाहन्छु। जनताका अगाडि उभिएर यसरी नै भन्नुहोस् तपाईहरू हरेकका एक दर्जन कम्तिमा टुप्पा टुप्पामा पुर्‍याएका अफिसर म हरेकका देखाइदिन सक्छु। क-कसका आफन्त कहाँ कहाँ छन्।’

उनले यो सम्धीवाला, छोरी बुहारीवाला, भाइ भतिजावाला पार्टी नभएर जनताको पार्टी भएको भन्दै देश विकास गर्ने पार्टी भएको दाबी गरे। उनले नेताहरूलाई पहिले आफ्नो मानसिकता परिवर्तन गरेर देश विकासमा लाग्न सुझाव दिएका छन्।

‘पहिले तपाईँहरूको मानसिकता परिवर्तन गर्नुहोस्। आफ्नो ध्यान कमाउने तिर होइन, देश विकासतिर लगाउनुहोस्। अनि उहाँहरू गिन्तीमा पर्नुहुन्छ’, उनले भने, ‘उहाँहरूको ध्यान छोरी, ज्वाई, भाइ, भतिजो, बुहारी सम्धी, सम्धीनी, आफन्त, भान्जो, शालो, नाती तिर छ। मैले केही भनिरहनु पर्छ जस्तो लाग्दैन।’