प्रचण्डको प्रस्ताव फिर्ता नलिए केस्राकेस्रा, रौं-रौं चिरेर जवाफ आउँछ : सूर्य थापा

काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयको विवाद ‘कि त छैनस् कि म छैन’ को स्थितिमा आइपुगेको छ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोप सही नभए प्रचण्डले र सही भए आफूले पद छाड्ने बताएका छन्।

बुधबार बसेको सचिवालय बैठकमा यसअघि प्रचण्डले बाँडेको प्रतिवेदनको जवाफ दिने क्रममा ओलीले सो प्रतिवेदनमा लगाइएका आरोप खारेज गर्दै त्यसको काउन्टरमा अर्को प्रतिवेदन ल्याउने र पूर्ण जवाफ दिने बताएपछि नेकपाको विवाद तत्काललाई १० दिन पर धकलिए पनि संकट झनै चुलिने सम्भावना रहेको नेताहरुको भनाइ छ।

यदि पार्टीलाई जोगाउने हो भने आरोपहरु मात्र लगाइएको प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने, नभए त्यसको मूल्य महँगो हुने ओलीपक्षका नेताहरुको चेतावनी छ। यसै सन्दर्भमा थाहाखबर सँगको एक अन्तर्वार्तामा प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले केस्राकेस्रा केलाएर, रौँ रौँ चिरेर जवाफ दिने बताएका छन् । ‘कि त्यसलाई फिर्ता लिनुपर्यो। फिर्ता लिनका लागि हामीले आग्रह गरेको हो। फिर्ता लिनु भएन भने त्यसको मुखतोड जवाफ केस्राकेस्रा केलाएर, रौँ रौँ चिरेर जवाफ आउँछ, सामना गर्नुपर्यो,’ उनले भनेका छन् ।