५० वर्षअघि गणतन्त्रका लागि लड्दा १४ वर्ष जेल बसेको मै हुँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले ५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिएकोले आफू १४ वर्ष जेल बसेको बताएका छन् ।

कैलालीको धनगढीमा आयाेजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ । गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन् । ५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र ? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ ।’

उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको अतिक्रमित भूमिसामेल गरेर नक्सा सार्वजनिक गरेपछि आफ्ना विरोध हुन सुरु भएको बताए । उनले भने, ‘अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक सामेल गरेर नक्सा सार्वजनिक गरेपछि यही प्रदेशका केही मान्छेलाई छटपटी भएको छ । उहाँलाई मात्र मन्त्री बनाउनु पर्ने ?, पद पाए ठिक नत्र बेठिक रु, अहिले चार–चार जना मन्त्री यही प्रदेशबाट बनाउँदा पनि उहाँ खुसी हुनुहुन्न ।’