प्रधानमन्त्री ओलीको कदम संवैधानिक छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले संसद पुनर्स्थापनाले थप अस्थिरता र प्रतिगमनलाई सहयोग पुर्‍याउने बताएका छन् ।

दोलखाको चरिकोटमा केपी ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले स्थायित्वका लागि नयाँ संसदीय निर्वाचनमा जाने तयारी भएकाले पुरानो संसद अब पुनर्स्थापना नहुने दाबी गरे । ‘पदको लोभमा परेर प्रतिगनमलाई सघाउन लागिपरेका छन्’, मन्त्री थापाले भने, ‘अहिले पुरानै संसदकी नयाँ संसदको बहस चलिरहेको छ ।’ पुरानो संसद पुनर्स्थापनाले अस्थिरता निम्त्याउने उनको तर्क छ ।

उनले राष्ट्रियता र समृद्धिको नारा लिएर पार्टी अब चुनावमा होमिएको बताए । ‘जनतामा राष्ट्रियता, समृद्धि र स्थायित्वको नारा लिएर जनतामा होमियौं, प्रतिगमनकारी सकिन्छन्’, उनले भने, ‘अब नयाँ संसदले मात्रै समृद्ध नेपाल बनाउन सक्छ ।’

दाहाल-नेपाल समूहलाई लक्षित गर्दै मन्त्री थापाले पूर्वमेचीदेखि महाकालीसम्म पार्टीको सुद्धिकरण चलिरहेकाले पार्टीमा भएका फोहरमैला व्यवस्थापन भइरहेको बताए । पार्टीमा भएका अवसरवादीहरु हट्दै गएको उनको भनाइ थियो ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गणतन्त्रर र लोकतन्त्रको रक्षा र प्रतिगमन रोक्न संसद् विघटन गरेको तर्क गरे । ‘प्रधानमन्त्री केपी ओलीले लिएको कदम आजका लागि संवैधानिक छ ’ गुरुङले नेपाली जनता र संविधानको संरक्षणका लागि संसद विघटन ऐतिहासिक छ ।’ उनले अब निर्वाचनले नै देशमा स्थायित्व दिने दाबी गरे ।