तत्काल सत्ता हस्तान्तरण नगरे ट्रम्पमाथि महाभियोग लगाइँने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदी तत्काल राजीनामा नदिए उनीमाथि महाभियोग लगाउने तयारी भएको बताइएको छ ।

सभामुख न्यान्सी पेलोसीले हालै यदी उनले राजीनामा नदिए संसदले उनीमाथि महाभियोगको तयारी गरेको बताएकी हुन् । ट्रम्पका समर्थकहरुको भीडले गत बुधबार क्यापिटल हिलमा छिरेर हिंसात्मक आक्रमण गरेपछि ट्रम्पमाथि यस्तो दबाब बढेको हो । गत नोभेम्बर ३ मा अमेरिकामा भएको निर्वाचनमा ट्रम्पले हारेपछि पनि परिणाम अस्वीकार गर्दैआएका ट्रम्पले पछिल्लो समय निर्वाचन चोरी भएको भन्दै विद्रोह गर्न समर्थकहरुलाई उत्तेजित पार्ने अभिव्यक्ति दिँदैआएका थिए ।

ट्रम्पले भीड मत्थर पार्नुको सट्टा निरन्तर रुपमा थप उत्तेजित अभिव्यक्ति दिन थालेपछी उनीमाथि डेमोक्रयाट सांसदहरुले महाभियोग लगाउने बारे छलफल गरिरहेका छन् ।

‘आशा छ कि राष्ट्रपतिले तत्काल राजीनामा दिनेछन् । तर यदी उनले त्यसो गरेनन् भने मैले महाभियोग प्रक्रिया अघि बढाउन निर्देशन दिएको छु ,’ नेन्सी पेलोसीले शुक्रबार बताइन् । यस्तै भारतीय मूलकी अमेरिकी सांसद प्रमिला जयपालले ट्रम्पमाथि तत्कालै महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । ‘यो अहिले नै गरौँ,’ प्रमिलाले भनिन् ।

पछिल्लो समय अमेरिका मात्रै नभएर क्यानडा, बेलायत, जर्मनी सहित थुप्रै देशका राष्ट्रप्रमुखहरुले ट्रम्पको कडा आलोचना गरेका छन् । साथै अमेरिकी संसदमा भएको घटनाको विरोध गरेका छन् ।

अमेरिकी सांसदहरुले भने उनीमाथि तत्काल महाभियोग लगाउन माग गर्दैआएका छन् । त्यसो त ट्रम्पमाथि यसअघि पनि २०२० मा उनीमाथि महाभियोग लगाइएको थियो । ट्रम्पले भने अघिल्लो दिन शान्तिपूर्ण रुपमा सरकार हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिए पनि चुनावी परिणाम स्वीकार नगरेको अभिव्यक्ति दिएका छन् ।

साथै उनले २० जनवरीमा हुने हस्तान्तरण तथा उद्घाटनसभामा उपस्थित नहुने प्रतिक्रिया दिए । ट्रम्पले निरन्तर विवादास्पद र साम्प्रदायीक अभिव्यक्ति दिन थालेपछि फेसबुकले समेत उनीमाथि प्रतिबन्ध लगाएको छ । ट्वीटरले त उनीमाथि स्थायी रुपमै प्रतिबन्ध लगाइदिएको छ ।