संसद विघटन गरेर प्रधानमन्त्रीले देश बचाउनुभयो : खानेपानी मन्त्री

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कू’ गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देश बचाएको दावी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा उनले यस्तो बताएका हुन् । उनले प्रचण्डमाथि संविधान र लोकतन्त्रमाथि कू गर्न खोजेको आरोप पनि लगाए । प्रचण्डले कू गर्न खोजेपछि प्रधानमन्त्रीओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनका लागि कदम चालेको बताए ।

‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्रीओलीमाथि कू गर्नु खोज्नुभयो । देशलाई कू को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो,’ मन्त्री थापाले भने । चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए देश प्रतिगमनको बाटोमा जाने ठोकुवा गरे ।

धनगढीमा प्रधानमन्त्री ओलीको सभाको प्रसंग उल्लेख गर्दै उनले देश चुनावी अभियानमा गइसकेको पनि उनको दावी थियो । यस्तै अर्को प्रश्नमा उनले प्रचण्डले समकालीन नेताहरु र प्रधानमन्त्री ओलीमाथि धोका दिएको उनको दावी थियो ।