माओवादी जंगली र जनयुद्ध कुहिएको फर्सी भन्दा पनि बादल निरिह बनेर ओली कित्तामा

माओवादी जनयुद्धको उच्च तहमा रहेका रामबहादुर थापा बादल यतिबेला नैतिक संकटमा छन् । उनले आफ्नो पुरानो समूह छाडेर नेकपाको ओली समूह रोजेका छन् ।

तर सोही समूहका नेताहरुले भने जनयुद्धको सत्तोसराप गरिरहेका छन् । महेश बस्नेत देश दौडाहामा रहँदा नेकपाभित्र माओवादी गलगाँड आएको बताएको खबर आएकै बेला ईश्वर पोखरेलले बादलकै अगाडि उभिएर माओवादीलाई ‘जंगली’को संज्ञा दिए ।

शनिबार प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरिदिए । जहाँ गृहमन्त्री बादल पनि स्वयम् उपस्थित थिए ।

बादल पछिल्ला कार्यक्रमहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । उनले खुलेर जनयुद्ध शब्दको उच्चारण पनि गर्न सकिरहेका छैनन् । स्रोतका अनुसार पूर्वमाओवादीबारे ओली रणनीतिबारे ओली आफैं अनभिज्ञ छन् । यसबारे खुलेर कुरा गर्न पनि सकिरहेका छैनन् ।

‘आफ्नै कार्यकर्ता हुन तयार भएका पूर्वमाओवादीमाथि ओलीको आक्रमणबारे बादल लगायतका नेताहरु सबै अलमलमा छन्,’ एक नेताले भने, ‘जनयुद्धको बारेमा मुख छाडेर बोल्न थालेपछि केही छटपटि भने उहाँमा बढेको छ ।’

यसअघि बादल समूहमा रहेका एक नेताले भने, ‘ओली गणतन्त्रको पक्षमा स्पष्ट नभएपनि उनी गणतन्त्रवादीहरुकै मतले त्यहाँ पुगेका हुन् । भोट दिनेलाई ओलीले किन चोट दिइरहेका छन् ? बादलजीहरुमा अस्पष्टता रहेको पाएँ ।’

बादलले ओलीलाई रोज्दा उनीपछि रहेका अधिकांश सबै नेताले साथ छाडेका छन् । बादल समूहमा लागेका एक नेता भन्छन्, ‘बादलजी रहरले भन्दा कुन बाध्यताले त्यता जानुभएको छ, हामीलाई पनि थाहा छैन तर सानोतिनो धम्कीले गल्ने मान्छे चाहिँ उहाँ होइन ।’

पारिवारिक स्रोतका अनुसार अहिले बादलको पत्नी समेत उनको राजनीतिक लाइनमा सहमत छैनन् । पार्टीमा ओलीपछि सहअध्यक्ष बनाउने भने पनि औपचारिक कार्यक्रममा यस्तो गरिएको छैन ।