बयलगाडामा चढेर अमेरिका जाँदै प्रचण्ड–माधव नेपाल समूह

संसद बिघटन विरुद्ध विराटनगरमा आइतबार फरकशैलीको विरोध प्रदर्शन गरिएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री ओलीले गणतन्त्र आउनु बलयगाडा चढेर अमेरिका जानु जस्तै हो भनेर पहिला भनेको विषयलाई ब्यङ्ग्यात्मकशैलीमा प्रदर्शन गरेका हुन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रमा आफूले गरेको प्रतिगामी कदम सच्याउन आग्रह प्रदर्शनमा गरिएको थियो । उनीहरुले बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेका थिए र भनेका थिए की–हामीले ल्याएको गणतन्त्रमा तिमीले चालेको प्रतिगमनकारी कदम सच्याउ ।

विराटनगरको रोडशेष चोकबाट सुरु भएको प्रदर्शन विराटनगर ट्राफिक चोकमा कोणसभामा परिणत भएको थियो । यसमा २०६२-२०६३ को जनआन्दोलनको समयमा सडकमा रहेर गणतन्त्रका लागि संघर्ष गर्ने दलहरुलाई ओलीले ब्यङ्ग्य गर्दै भनेको कुरालाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको थियो ।

कोणसभामा प्रचण्ड–माधव समूहका कार्यकर्ताले संविधान वाचन गरेका थिए । जनताले लडेर ल्याएको गणतन्त्रलाई समाप्त पार्ने बाटो रोजेको भन्दै प्रधानमन्त्री विरुद्ध नम्रशैलीमा दवावमूलक प्रदर्शन गरिएको नेकपाका नेता गणेश उप्रेतीले बताउनुभयो ।