जुन समूहले अध्यक्ष दिन्छ, त्यही गएर अध्यक्ष बनेर पार्टी एकता गर्छु : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ त्यही समूह गएर पार्टी एकता अभियान सञ्चालन गर्ने जनाएका छन्।

पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको गौतमको भनाइ छ। सोमबार पत्रकारसँग कुरा गदै गौतमले भने, ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन, जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु।’

उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको बताए। ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्’, उनले भने। ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ।’ उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए।