रंगशाला निर्माणका लागि धुर्मस सुन्तलीलाई आर्थिक संकट

रंगशाला निर्माणको नेतृत्व गरिरहेका धुर्मसलाई पछिल्ला दिनमा आर्थिक संकटले निकै सताउन थालेको छ ।

रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा बजेटको अभाव हुँदा न उनले सोचे जसरी कामलाई अघि बढाउन सकेका छन्, न रकमको जोहो हुने निश्चित स्रोत छ । बजारबाट ल्याएको सामानको पैसा तिर्न फिटिफिटी परेको छ । उधारो नतिर्दासम्म आपूर्तिकर्ताले थप सामान नदिने अवस्था छ ।

‘विहान उठेदेखि राति सुत्ने बेलासम्म आपूर्तिकर्ताको फोन आउँछ’ धुर्मस भन्छन् ‘उहाँहरुलाई गाह्रो छ, एकैठाँउमा रकम थुप्रिदा उहाँहरुलाई पनि समस्या भएकै छ ।’ धुर्मुसका अनुसार एउटै व्यवसायीको साढे तीन करोड रुपैयाँ उधारो तिर्नु छ ।

धुर्मस सुन्तली फाउण्डेसनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार रंगशाला निर्माणका क्रममा खरिद गरेको सामानको उधारो मात्र ९ करोड ३३ लाख पुगिसकेको छ । रंगशाला निर्माणमा खटिएका मजदुरलाई रकम दिन गाह्रो हुन थालेको छ ।

दसै‌, तिहार र छठमा कामदारलाई ज्याला दिने रकम नभएपछि सहकारीबाट ऋण लिनु परेको फाउन्डेसनका अध्यक्ष धुर्मुस दुखेसो पोख्छन् । उनका अनुसार चितवनको समृद्धि सहकारीबाट ३० लाख र काठमाडौंको जेष्ट आइडोलोजी सहकारीबाट ६० लाख रुपैयाँ ऋण लिइएको छ ।

रकम अभावकै कारण रंगशाला निर्माणमा खटिने कामदारको संख्या घटाउन थालिएको छ । पहिले ३१३ जनासम्म कामदार थिए, अहिले १६१ जनामा झरेको छ ।

धुर्मुसलाई रंगशालाको काम छिटो सकेर कलाकारितामा फर्किन पाए हुन्थ्यो भन्ने लाग्न थालेको छ । तर अवस्था भने आर्थिक अभावकै कारण रंगशाला निर्माणमा ढिलाइ हुन थालेको छ । जनस्तरबाट स्वःस्फूत उठ्ने अपेक्षा गरिएको रकम र सहयोग कोरोना भाइरस (कोभिड–१९) का कारणले उठ्न सकेको छैन ।