चुच्चे नक्सा जारी गरेपछि केपी ओलीलाई हटाउने खेल शुरु भयो : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल शुरु भएको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ काभे्रले आज (बिहिवार) बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु शुरु भएको बताउनुभयो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछी केपी ओलीलाई नफाली नहुने गरी खेल शुरु भयो । उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भन्नुभयो, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछी केपी ओलीलाई हटाउन लागेका हुन् ।’ प्रधानमन्त्री ओली राजनेता बन्ने भयो भनेर नै उनकाविरुद्ध विभिन्न आरोप लगाएर सत्ताबाट फाल्ने ढंगले अगाडी बढेको उहाँको भनाई थियो ।

आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उहाँले यो निर्वाचनबाट फेरिपनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गर्नुभयो ।