सहिदको सालिकमुनि सुतेर प्रतिगमनको विरोध

प्रतिनिधिसभा विघटनविरुद्ध शृंखलाबद्ध आन्दोलन गरिरहेको नागरिक आन्दोलनले टेकुस्थित पचलीघाटमा सहिद शुक्रराज शास्त्रीको सालिकमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा शिल्पी थिएटरले नाटक प्रस्तुति पनि गरेको थियो । कार्यक्रममा लेखक नारायण ढकाल, रश्मिला रञ्जित, यादवलाल कायस्थले मन्तव्य प्रस्तुत गरेका थिए भने जुजुकाजी रञ्जित र पवित्रा कसा:ले गीत तथा कविता प्रस्तुत गरेका थिए । साथै सहिद शास्त्रीको सालिकमुनि भुइँमा सुतेर आन्दोलनकर्मीले एक मिनेट मौनधारण गरेका थिए ।

‘प्रतिगमन विरुद्धको प्रतिरोध’ कार्यक्रममा कलाकारले सडकमै नाटक प्रदर्शन गरेका हुन् । संसद पुनस्र्थापना हुनुपर्ने भन्दै नागरिक अगुवाले सडकमै सुतेरसमेत प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन सुरु गरेको भन्दै निरन्तर आन्दोलनमा उत्रिएको नागरिक समूहले शुक्रबार फरक ढंगले विरोध प्रदर्शन गरेको हो । सहिद दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीले सडकमै सुतेर विरोध गरे । विरोधमा सहभागी सबै सडकमै लम्पसार परेका थिए ।