तर हामी देशलाई स्थायित्व दिन चाहन्छौं : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आफुहरुले देशलाई स्थायित्व दिन चाहेको बताएका छन् ।

नेकपा (ओली समूह) चितवनद्वारा शनिबार आयोजित जनसभामा गृहमन्त्री थापाले अस्थिरता चाहने र अवसरवादीहरु पार्टीबाट किनारा लागेको बताएका छन् । गृहमन्त्री थापाले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।

आम नागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उनको भनाइ थियो । उनले ‘उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौं’ भने । उनले भने, ‘स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौं ।’ पार्टी छाडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भने, ‘आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।’

गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको दाबी गरेका छन् । उनले भने, ‘यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईं जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।’