नेपालमा बर्डफ्लु देखियो

नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गरिएको विभागले जनाएको छ । ‘शुक्रबार बेलुका पहिचान भयो, शनिबार त्यो क्षेत्र नियन्त्रणमा लिएका छौं,’ विभागका सूचना अधिकारी चन्द्र ढकालले भने ।

पुष्टि भएको क्षेत्रबाट अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन उक्त ठाउँका सबै घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको उनले बताए । उक्त क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको ढकालले जानकारी दिए । संक्रमण अन्यत्र फैलिन नदिन तथा नियन्त्रण गर्न संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको विभागले जनाएको छ ।