कक्षा १२ को नतिजा आज प्रकाशित हुँने

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा सोमबार प्रकाशित गर्ने भएको छ ।

आइतबार बसेको बोर्ड बैठकले सोमबार नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै सोमबार बिहान १० बजेपछि बोर्डको बैठक डाकिएको छ ।

वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ । एसईईमा पनि विद्यालयहरूले विद्यार्थीलाई मनोमानी अंक दिएको पाइएको थियो । अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई उच्च जीपीए प्राप्त हुने गरी नम्बर दिएका थिए ।