केपी ओली नेपाली राजनीतिको पशुपतिनाथ हो : महेश बस्नेत

नेकपा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिको पशुपतिनाथ भएको बताउनुभएको छ ।

रामेछापको सदरमुकाम मन्थलीमा युवा संघ नेपाल र अनेरास्ववियुले आयोजना गरेको बृहद युवा विद्यार्थी भेलालाई सम्बोधन गर्दै बस्नेतले प्रचण्ड, माधव नेपाल र झलनाथ पशुपतिनाथ बाहिरका भोलेनाथ भएको बताउनुभयो ।

‘पशुपतिनाथको बाहिर कोही हनुमान बनेर पुच्छर हालेर हिँडेका हुन्छन्, कोही शिवको मुखण्डो लगाएर पैसा मागेर हिँडेका हुन्छन्, मानिसलाई झुक्याइरहेका हुन्छन्, तिनीहरुलाई हामी भोलेनाथ भन्छौँ’, बस्नेतले भन्नुभयो ।

केपी ओली पशुपतिनाथ गएकोमा समेत केही मुद्दा नपाएकाले विरोध गरेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली पशुपतिनाथ गएको मात्र होइन, उहाँ नेपालको राजनीतिको पशुपतिनाथ नै हो, प्रचण्ड र माधव नेपाल पशुपतिको बाहिर बसेर मानिस झुक्याउने पात्र हुन् ।’

केपी ओलीले नेपाली जनताको आस्था रहेका सबै भगवानलाई सम्मान जनाउन पशुपतिनाथ जानुभएको बस्नेतले प्रष्ट पार्नुभयो । केपी ओलीले नेपाली जनतालाई आफ्नो आस्थाका भगवान ठानेको उहाँले बताउनुभयो । नेपाली जनताको सामाजिक सद्भाव केपी ओलीले हिजोदेखि जोगाउँदै आएको उहाँको भनाइ छ ।

राष्ट्रिय स्वाधिनताको पक्षमा उभिए वापत केपी ओलीले राजिनामा दिनु पर्ने ? भन्दै बस्नेतले प्रश्न गर्नुभयो । उहाँले केपी ओली सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता बचाउने नेता भएको पनि बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक सद्भाव र संविधान बचाए वापत केपी ओलीले राजिनामा दिनु पर्ने ? भन्दै उहाँले थप प्रश्न गर्नुभयो ।

केपी ओलीको ब्राण्डले नै नेपालको कम्युनिष्ट आन्दोलन बचेको बस्नेतको भनाइ छ । केपी ओलीले माधव नेपाललाई पार्टी अध्यक्ष र प्रचण्डलाई प्रधानमन्त्री बनाएर ससम्मान बिदा हुन खोज्दा उहाँलाई जवरजस्ती निकाल्न खोजिएको बस्नेतको आरोप छ ।

बस्नेतले अब माधव नेपाल र प्रचण्ड जीवनमा कहिल्यै पनि प्रधानमन्त्रीको कुर्सीमा नपुग्ने दाबी पनि गर्नुभयो । ‘अब उहाँहरुको स्थान माइतीघरको सडकमा नै हो, अहिले नै ठीक ठाउँ रोज्नु भएको छ’, बस्नेतले भन्नुभयो ।