एपीएफले चाैदण्डीगढीलाई २२–० ले हरायाे, सावित्राको एक्लैको १२ गोल

महिला राष्ट्रिय लिग फुटबलमा सोमबार एपीएफले चौदण्डीलाई भारी गोल अन्तरले हराएको छ ।

अंक तालिकाको शीर्ष र पुछारमा रहेको टिमबीचको खेलमा एपीएफले २२-० गोल अन्तरले चौदण्डीलाई हराएको हो ।

उपाधिको बलियो दाबेदार तथा डिफेन्डिङ च्याम्पियन एपीएफको यो लगातार छैटौं जित हो । पहिलो हाफमा एपीएफ १२ गोलले अगाडि थियो । विजयी टिमका लागि सावित्रा भण्डारीले १२ गोल गरिन् । यस्तै, कप्तान अनु लामाले पाँच र अनिता बस्‍नेतले तीन गोल गरे । रेणुका नगरकोटी र सरु लिम्बूले एक/एक गोल गरे ।

यसअघि आर्मीले दिनको पहिलो खेलमा विराटनगरलाई सजिलै ७–० ले हरायो । त्यसमा शर्मिला थापाले ह्याट्रिक गरिन् । यस्तै, विमला चौधरीले दुई गोल गरिन् भने रश्मी घिसिङ र विमला विकले एक/एक गोल गरे ।

यो जितपछि आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । तेस्रो जित निकालेको आर्मीको पाँच खेलबाट १० अंक भएको छ । विराटनगर भने सात अंकसहित चौथो स्थानमा रहेको छ ।