अब मधेशी, जनजाति मिलेर अन्तिम लडाई लड्नुपर्छ : राजेन्द्र महतो

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनमुुक्तिका लागि अन्तिम आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विगतमा पटक पटक आन्दोलन भयो तर शासकले त्यसको कुनै सुनुुवाइ नगरोके दावी गर्दै उनले अब मधेशी, आदिवासी जनजातिले मिलेर अन्तिम लडाई लड्नुपर्ने बताए ।

झापामा आयोजित जनता समाजवादी युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक्ला एक्लै लडेर परिवर्तन नहुने धारणा राखे । परिवर्तनका लागि महन्थ ठाकुरले काँग्रेसबाट विद्रोह गरी मधेशको राजनीतिमा आएको बताउँदै उनले तत्कालिन एमालेका ठूलै नेता अशोक राइ सो पार्टी छाडेर मधेशी, आदिवासी जनजातिको आन्दोलनमा लागेको धारण राखे ।

उनले जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई अहिलेको संविधान आधा ग्लास पानी भनेर माओवादी छाडेर आन्दोलनमा आएको बताए । उनले भने, ‘बिचरा बाबुुराम भट्टराई अहिलेको संविधान आधा ग्लास पानी भन्दै माओवादी छाडेर परिवर्तनको आन्दोलनमा आउनुभएको हो ।’