अख्तियार प्रमुखमा प्रेमकुमार राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले बुधबार कार्यभार सम्हालेका छन् ।

उनी बुधबार दिउँसो टंगालस्थित आयोगको मुख्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि उनले बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । राईसँगै आयोगको सदस्यमा नियुक्त जयबहादुर चन्द र किशोरकुमार सिलवाल पनि कार्यालय पुगेर पदभार सम्हालेका छन् ।

सरकारले राईसहित विभिन्न ३८ जनालाई विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका लागि सिफारिस गरेको थियो । यसका लागि सरकारले ल्याएको अध्यादेशको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा परेको निवेदन विचाराधीन छ ।

सरकारले विधि मिचेर नियुक्त गरेको भन्दै नेकपाकै दाहाल–नेपाल समूहलगायतले विरोध जनाउँदै आएका छन् । सरकार कामचलाउ भएकाले यस्ता नियुक्तिहरू गर्न नपाउने उनीहरुको भनाइ छ । संवैधानिक परिषद्को सिफारिसकै विषयलाई लिएर सभामुख र राष्ट्रिय सभा अध्यक्षसमेत तर्कवितर्कमा उत्रिएका थिए । बुधबार भएको शपथमा सभामुख र उपराष्ट्रपति सहभागी भएनन् ।