आमहड्ताल जनताकै लागि हो, लोकतन्त्रकै लागि हो : प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु सडकमा आउनु बाध्यता भएको बताएका छन् ।

आमहड्तालको दिन आफै सडकमा आएका प्रचण्डले जनताले आमहड्ताललाई बाध्यताको रुपमा बुझिदिन आव्हान गरे ।

‘सरकारले संविधान, नियम कानुन मिचेको प्रतिवाद गरिएन भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतका परिवर्तनका एजेण्डा धरापमा पर्छ’ कोटेश्वर पुगेका प्रचण्डले भने, ‘आमहड्ताल नगरिदिए हुनेथियो भन्ने जनचाहना छ, जनताको भावनालाई सम्मान गर्छौं । यो जनताकै लागि हो, लोकतन्त्रकै लागि हो ।’

जनताको अधिकार स्थापित गर्न विगतमा पनि जनताले साथ दिएको भन्दै उनले यो आन्दोलनमा पनि साथ दिने विश्वास व्यक्त गरे । सरकारले संविधान मिचेर दिउँसै रात पार्ने काम गरेको भन्दै प्रचण्डले सबै राजनीतिक दलले आन्दोलन गरिरहेको र थप सशक्त पार्ने बताए ।