ओलीकै चरित्रका कारण आम हड्ताल गर्न बाध्य भयौं : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एक समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुश शासक भएको आरोप लगाएका छन्।

विहीबार नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको हड्ताल कार्यक्रम अनुगमन गर्न सडकमा निस्किएका नेता नेपालले ओलीकै चरित्रका कारण आम हड्ताल गर्न बाध्य भएको बताए।

ओली नेतृत्वको काम चलाउ सरकारले एकपछि अर्को गर्दै संविधान मिच्ने काम गरेकाले बाध्य भएर सडकमा आउनु परेको नेपालले बताए। प्रधानमन्त्री ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा पनि नरहेको पनि पूर्वप्रधानमन्त्री नेपालले जिकिर गरे।

सभामुखले संवैधानिक नियुक्ति फिर्ता गर्दा पनि ओलीले असंवैधानिक रूपमा नियुक्त गरेको नेपालले बताए। ‘काम चलाउ सरकारका प्रधानमन्त्रीले संविधान मिचे, अधिनायकवादी चरित्रमा अघि बढिरहेका छन्। ओली भनेका निरङ्कुश शासक हुन्, पार्टीभित्र र सरकार सञ्चालनको क्रममा पनि भागेका हौँ,’ उनले भने, ‘ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा पनि छैनन्, संवैधानिक परिषद्‌मा नियुक्ति प्रकृया नै गलत छ।’

काम चलाउ सरकारको असंवैधानिक अधिनायकवाद विरुद्ध जनतालाई पनि विरोध जनाउन आम हड्ताल गरेको उनले तर्क गरे। जनतालाई कष्ट भएपनि ओलीको असंवैधानिक कदमलाई परास्त गर्न आफूहरूलाई जनताको साथ मिलेको नेपालको दावी छ।