‘सही पनि एमाले, मै पनि एमाले’ भन्दै धनगढीमा ओली पक्षको जुलुस

धनगढीमा केपी शर्मा ओली पक्षका कार्यकर्ताले ‘सही पनि एमाले, मै पनि एमाले..’ भन्दै नारा लगाएर प्रदर्शन गरिरहेका छन्।

प्रचण्ड-नेपाल पक्षले आव्हान गरेको आमहड्ताको विरोध गर्दै सडका निस्किएका उनीहरूले बद्री पंगेनीले गाएको तत्कालिन नेकपा एमालेको चुनावी गीत सही पनि एमाले मै पनि एमाले.. भनेर गीत गाउँदै नाचेर प्रदर्शन गरेका छन्। आमहड्तालको विरोधमा नेकपा ओली पक्षका युवाले प्रदर्शन सुरू गरेलगत्तै प्रचण्ड-नेपाल पक्षले आपत्ति जनाएका छन्।

उनीहरूले आमहड्तालको विरोधमा सडकमा पुगेका ओली पक्षका कार्यकर्ता हटाउन प्रहरीसमक्ष माग गरिरहेका छन्। शान्तिपूर्ण आमहड्तालका क्रममा बिना काममा ओली पक्ष सडकमा आएको भन्दै उनीहरू आक्रोशित भएका थिए। यसैबिच प्रहरीले ओलीपक्षलाई सडकबाट हटाउन पहल गरिरहेको छ। अहिले मुख्यमन्त्री कार्यालय अगाडि टायर बालेर प्रचण्ड-नेपाल पक्षले चर्को विरोध गरिरहेका छन्।

ओली पक्षले पनि गरिखानेलाई काम गर्न दिनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्। ओली पक्षका कार्यकर्ताले ‘सही पनि एमाले, मै पनि एमाले,’ भन्दै गीत गाउँदै नाच्न थालेपछि प्रचण्ड-नेपाल समूह झन् चर्को आन्दोलन गरिहरेका छन्।

दुबै समूहका कार्यकर्ता सडकमा आएपछि तनाव सिर्जना भएको छ। झडप हुने सम्भावना बढेको भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ।