विद्युत बेचेर नेपाल धनी हुन्छ : प्रधानमन्त्री ओली

गण्डकी प्रदेशकै बहुप्रतिक्षित कालीगण्डकी करिडोर २२०–१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको १३२ केभी क्षमताको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार काठमाडौंबाटै भर्चुअल उदघाटन गरेका छन् ।

हेलिकप्टरबाट पर्वतको खुर्कोटमा पुगेर उद्घाटन गर्ने प्रधानमन्त्री ओलीको पूर्व निर्धारित कार्यक्रम नेकपा प्रचण्ड–माधवको नेपाल बन्द घोषणाका कारण स्थगित गरिएको थियो । भर्चुअल रुपमा आयोजनाको उद्घाटन गदैं प्रधानमन्त्री ओलीले विद्युत उत्पादनमा देशले फड्को मारेको बताए ।

‘देशमा विकासको गति रोकिदैन, विद्युतमार्फत समृद्ध नेपालको सपना पुरा गछौ,’ प्रधानमन्त्री ओलीले भने । उनले नेपालमा उत्पादन गरिएको विद्युतलाई भारत र बंगलादेशमा निर्यात गर्ने सम्झौता भइसकेको बताउँदै आफ्नो नौ महिने सरकारमा गरेका कामहरुको प्रगति देखिन थालेको बताए ।

‘अब नेपाली नागरिक अध्याँरोमा बस्नुपर्दैन, विद्युत बेचेर नेपाल धनी हुन्छ’ भर्चुअलबाट सम्बोधन गदैं प्रधानमन्त्री ओलीले भने । उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायत उच्चपदाधिकारी सहित स्थानीय तहमा जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।