मेयर रेनु दाहाल जस्तापाता लिएर आफ्नो घरमा आइपुग्दा दंग परे शिवराम चौधरी

रातापुरका शिवराम चौधरी मेयर सहितका जनप्रतिनिधि जस्तापाता लिएर आफ्नो घरमा आइपुग्दा दंग परे ।

खरको झुपडीमा बस्दै आएका ७२ वर्षका चौधरी जस्ताको छानोमुनि बस्न पाउने भएपछि खुसी देखिन्थे । भरतपुर महानगरपालिकाले आफ्नो महानगरपालिका क्षेत्रमा खरको छानोमुक्त अभियान सञ्चालन गरेको छ । त्यसका लागी महानगरपालिका मार्फत आर्थिक रुपमा विपन्न परिवारलाई जस्तापाता, फलामको पाईप, सिमेन्टीको पोल र नगद सहयोग सुरु गरेको हो ।

नागरिक सुरक्षित आवास कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल बुधवार आफैँ आवास निमार्ण सामाग्री लिएर चौधरीको घरमा पुगेकी हुन् । जस्तापाताले घर बनाउने सपना पुरानो हो, तर आफ्नो आम्दानीले किन्न सकेको थिइन । खुसी हुँदै चौधरीले भने ‘महानगरले नै जस्ताको घर बनाउन निमार्ण सामाग्री र पैसा दिएकोमा खुसी लागेको छ ।’

शिवराम चौधरी जस्तै भरतपुर २७ सुकुम्बासी वस्तीकी धनकुमारी माझी र चन्द्र मायाँ परियाले पनि छिट्टै जस्तापाता लगाएको नयाँ घर बनाउदै छन् । पानी पर्दा घर भित्रै त्रिपाल ओडेर बस्नुपर्ने अवस्था थियो , खुसी हँुदै माझीले भनिन् अब जस्ताले छाएको घरमा हिउँद बर्खामा ढुक्कले निदाउन पाइने भइयो । चन्द्र मायाको परिवार भने गएको वर्खामा नारायणीले घर बगाएपछि अरुको घरमा बस्दै आएका थिए ।

आफ्नो आम्दानीले खरको छाना फेर्न नसक्ने परिवारलाई महानगरपालिका मार्फत आवास निमार्ण सामाग्री सहयोग गरेको मेयर रेनु दाहालले बताइन् । कोभिडका कारण वितरण गर्न नसकिएको कारण गत वर्षकै कार्यक्रम अन्तर्गतको १०९ घर लाई बुधबार निमार्ण सामाग्री वितरण गरीएको हो ।

यो आर्थिक वर्षमा ६ सय घरपरिवारलाई निमार्ण सामाग्री वितरण गर्ने कार्यक्रम रहेको उनले बताइन् । ‘हामी हाम्रो कार्यकाल सम्म खरको छाना मुक्त महानगरपालिका घोषण गछौँ’ उनले भनिन् क्रमश बाँकी घर धुरीलाई समेत सहयोग गर्ने छौँ । यो अभियान मार्फत २० थान जस्ता पाता, फलाम ९ थान पाईप र सिमेन्टको को ९ वटा पोल र नगद एक हजार पाँच सय रुपैयाँ राखिएको छ ।