आँखा फुटेझैं विकास भएको नदेख्ने आफ्नै पार्टीका एकथरी नेता थिए : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले केपी ओली नेतृत्वको सरकारलाई षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् ।

सोमबार पोखराको विजयपुर खोलामा निर्माण भएको पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले सो कुरा बताएका हुन् । मन्त्री नेम्वाङले ओली नेतृत्वको सरकारले विकास, समृद्धि र राष्ट्रियताको पक्षमा अडान राख्दा षडयन्त्र गरेर हटाउने प्रयास भएपछि संसद विघटन गर्नुपरेको बताए ।

उनले मुलुकको विकास र समृद्धि केपी ओली नेतृत्वमा मात्र सम्भव हुने दावी समेत गरे । मन्त्री नेम्वाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाएको बताउँदै त्यसको निरन्तरताका लागि पनि आगामी निर्वाचनमा केपी ओली नेतृत्वको नेकपालाई विजयी गराउन आवश्यक रहेको बताए ।

उनले ओलीकै नेतृत्वमा देश सुरुङ मार्गमा प्रवेश गरेको बताउँदै अबको केहि समयपछि रेलको युग पनि शुरु हुने बताए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काम शुरु भइसकेको र त्यसको परिणाम केहि महिनाभित्र देखिने उनको दाबी छ । मन्त्री नेम्वाङले विकासको काम तीव्र गतिमा भइरहँदा पनि आफ्नै पार्टीका केहि नेताहरुले देखि नसहेको बताए । ‘देशमा तीव्र विकास हुँदासमेत आँखा फुटेझैं विकास भएको नदेख्ने आफ्नै पार्टीका एकथरी नेताहरु थिए’ उनले भने । ओलीले गरेका राम्रो काम देख्दादेख्दै सांसद, सभा र विदेशमा समेत पुगेर केपी ओलीले कामै गरेन भनेर खेदो खने ।’

पोखरादेखि पर्यटकीय गाउँ सिक्लेस पुग्ने सडक खण्ड अन्तर्गत पर्ने पोखरा महानगरपालिका वडा नम्बर १३ र मादी गाउँपालिका वडा नम्बर ५ को सीमानामा पर्ने विजयपुर खोलामा मोटरेबल पुल निर्माण गरिएको हो । ५ करोड ७५ लाख २९ हजार १ सय २४ रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सम्मपन्न भएको उक्त पुलमा २५÷२५ मिटरका २ वटा स्पान राखेर बनाइएछ । पुलको लम्बाई ५४.१७ मिटर छ । ११ मिटरको चौडाई रहेको पुलको दायाँ÷बायाँ दुबैतर्फ १.५ मिटरको फुटपाथ समेत निर्माण गरिएको छ । पुलको २ वर्षअघि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिलान्यास गरेका थिए ।